
काठमाडौं – २०८० सालको वर्षायाममा मात्रै १५ अर्ब २३ करोड ८० लाख रुपैयाँको विद्युत भारत निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले २८ जेठदेखि २० मंसिरसम्म भारतमा १ अर्ब ७३ करोड ७१ लाख युनिट बिजुली निर्यात गरेको हो ।
प्राधिकरणले नेपालमा खपत गरी बचत भएको विद्युत् अधिकतम ७ सय मेगावाटसम्म निर्यात गरेको थियो । निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ ।
साउनदेखि २० मंसिरसम्म मात्र प्राधिकरणले १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ ।
सुख्खायाम सुरु भएसँगै खोला तथा नदीहरुमा पानीको बहाव घटेर देशभित्रका विद्युतगृहबाट उत्पादन कम हुन थालेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ । शुक्रबार रातिदेखि भारतमा विद्युत निर्यात बन्द हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया