काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ पार्टी गठनलगायतका विषयमा छलफलमा जुटेका छन्। नयाँ बानेश्वरस्थित होटल अर्यालमा जारी छलफलपछि निर्वाचन आयोग जाने समूहको तयारी छ। यो सँगै एमालेमा माधव कुमार नेपालको यो अन्तिम बैठक हुनेछ ।
सरकारले मंगलबार सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो १ बजेर १० मिनेटमा जारी गरेसँगै नेपाल पक्ष छलफलमा जुटेका हुन्। यसअघि अध्यादेश जारी हुनासाथ पार्टी विभाजनका लागि अघि बढ्ने एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिएका थिए।
नेपाल समूहले पार्टी विभाजनका लागि केन्द्रीय सदस्यको हस्ताक्षर शंकलन गरेकोमा स्थायी कमिटी सदस्यले भने असहमति जनाएका छन्। नेपाल पक्षका स्थायी कमिटी सदस्यमध्ये माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने र वेदुराम भुसालले मात्रै हस्ताक्षर गरेका छन्। केन्द्रीय सदस्य राजेन्द्र राईका अनुसार खनालले विभाजनका लागि हस्ताक्षर पठाएका हुन्।
माधव नेपाल जसरी पनि पार्टी विभाजन गर्न लागेकाले आफूहरूले साथ दिन नसकेको एक स्थायी कमिटी सदस्यले बताए।
सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य विभाजनको पक्षमा छैनन्। स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि विभाजनको पक्षमा छैनन्। नेपालसँग अत्यन्तै निकट रहेका स्थायी कमिटी सदस्य रघुजी पन्तले समेत हस्ताक्षर गरेका छैनन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्