काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको छ ।
सरकारले राजनैतिक दल विभाजन गर्न सहज हुने प्रकृतिको अध्यादेश ल्याउने तयारी गरेसँगै एमालेको संस्थापन पक्ष छलफलमा जुटेको हो ।
आज स्थायी कमिटि बसेपछि संसदीय दलको बैठक पनि बस्ने कार्यतालिका रहेको छ ।
अध्यक्ष ओलीले सोमबार राति अपिल जारी गर्दै सरकारले एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागेको भन्दै पार्टी विभाजनविरुद्ध एकजुट हुन आव्हान गरेका थिए ।
तर आज बस्ने बैठकमा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई कारबाही गर्ने तयारी गरेको बताइएको छ ।
संसद् अन्त्य गरेर सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको अवस्थामा अध्यक्ष ओलीले पार्टी फुटाउनुअघि नै नेपाल पक्षलाई कारबाहीको तयारी गरेका हुन्।
आजकै बैठकबाट कारबाहीको निर्णय गर्ने र चाँडै निर्वाचन आयोगलाई त्यसको जानकारी दिने ओली पक्षको तयारी रहेको एक नेताले बताए।
कारबाहीको निर्णयलाई तत्काल केन्द्रीय कमिटी बैठक बोलाएर अनुमोदन गर्ने तयारी ओली पक्षको छ।
यतिबेला दल विभाजनसम्बन्धी र प्रतिस्थापन बजेट विधेयक गरी दुई वटा अध्यादेश ल्याउने तयारी स्वरुप मन्त्रिपरिषद बैठक बसिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया