साउदीलाई ५ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २१

काठमाडौं । नेपाल लगातार तेस्रो जित निकाल्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।

साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि गुल्शन झाले अविजित ४४ रन तथा कप्तान रोहित पौडेलले अविजित २४ रन बनाए ।

त्यसअघि इशान पान्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रनको योगदान दिए ।

साउदीका इस्तियाख अहमद र मुहम्मद आतिफले २–२ तथा मोहम्मद हिशमले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो । साउदीका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए भने मुहम्मद आतिफले ३० रन जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि ३ तथा ललित राजवंशीले २ र शेर मल्लले १ विकेट लिए ।

नेपालले यसअघि बहराइनलाई ७ विकेट र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ । उक्त खेलपछि समूह ‘ए’ को विजेताको टुंगो लाग्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *