काठमाडौं – घरेलु टोली नेपालले पहिलो टी-२० अभ्यास खेलमा टेस्ट टोली आयरल्यान्ड ‘ए’लाई ६ विकेटले हराएको छ । योसँगै दुई खेलको सिरिजमा नेपालले १-० को अग्रता लिएको छ ।
जितको लागि १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६-१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेल ३२ बलमा ४ चौकासहित सर्वाधिक ३७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे ।
ओपनर आसिफ शेख ११ बलमा २ चौका र १ छक्कासहित १६ रनमा, कप्तान रोहित पौडेल शून्य र गुलशन झा ४ रनमा आउट भए । व्यक्तिगत २ रनमा जीवनदान पाएका सन्दीप जोराले ३५ बलमा ३ चौका र २ छक्कासहित ३६ रन बनाए ।
उनले चौथो विकेटका लागि सन्दीप र कुशल भुर्तेलले ५० बलमा ५४ रनको साझेदारी गरेका थिए । आयरल्यान्डका ग्यारेथ डेलानीले २, बेन ह्वाइट र थोमस मेयसले १र१ विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रनमा अल आउट भएको थियो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका कुशल भुर्तेल, गुलशन झा र ललित राजवंशीले २–२ विकेट लिए । करण केसी र कुशल मल्लले १–१ विकेट लिएका थिए । दोस्रो खेल मंगलबार हुनेछ । त्यसपछि आयरल्यान्ड ए ले नेपाल ए सँग समान तीन टी२० र एकदिवसीय अभ्यास खेल खेल्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया