नेपाल भलिबल लिगको विजेतालाई २० लाख पुरस्कार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १८

काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता ‘नेपाल भलिबल लिग’ (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन्।

आयोजक केडिया ग्रुपले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पुरस्कार राशिसहित विभिन्न तयारीबारे जानकारी दिएको हो। प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ। उपविजेतासहित उत्कृष्ट खेलाडी तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताका लागि ६ टोलीले सहभागिता जनाउनेछन्। प्रारम्भिक चरणमा सबै टोलीले एकअर्काविरुद्ध सिंगल राउन्ड रोबिन प्रणालीमा खेल्नेछन्। लिग चरणमा पहिलो स्थान हासिल गर्ने टोली सोझै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले अर्को चरणमा प्रतिस्पर्धा गर्दै फाइनल प्रवेशको अवसर पाउनेछन्।

प्रतियोगिताका लागि नेपाली खेलाडीसँगै विदेशी खेलाडीसमेत अनुबन्ध गरिएको आयोजकले जनाएको छ। विदेशी तथा घरेलु खेलाडीको सहभागिताले लिगलाई प्रतिस्पर्धात्मक र आकर्षक बनाउने अपेक्षा गरिएको छ।

प्रतियोगिताको मस्कटका रूपमा नेपालको राष्ट्रिय चरा डाँफेलाई प्रस्तुत गरिएको छ। साथै प्रतियोगिताको थिम सङ्ग र विभिन्न साझेदार संस्थासमेत सार्वजनिक गरिएको छ। एनसेल कनेक्टेड बाई पार्टनरका रूपमा रहेको प्रतियोगितामा यती कार्पेट, वर्ल्डलिंक, डीभी स्कुल, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल पर्यटन बोर्डलगायतका संस्थाले विभिन्न विधामा सहकार्य गरेका छन्।

नेपाल भलिबल संघको सहकार्यमा केडिया ग्रुपले आयोजना गर्न लागेको प्रतियोगिता भदौ १९ देखि २८ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ।

यसैबीच, प्रतियोगितालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उद्घाटनको पहिलो दिन बिक्री हुने टिकटबाट प्राप्त सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ। हाल देशका विभिन्न क्षेत्रमा बाढीको प्रभाव रहेकाले उद्घाटन समारोहलाई पनि सामान्य रूपमा आयोजना गरिने बताइएको छ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले निजी क्षेत्रको लगानीले नेपाली भलिबललाई व्यावसायिक बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले राष्ट्रिय खेल भलिबलको विकासमा निजी क्षेत्रको सहभागिता बढ्नु सकारात्मक पक्ष भएको बताए।

प्रतियोगितालाई एक्ट्रिम इन्जी ड्रिङ्कले मुख्य प्रायोजन गरेको छ। आयोजकका अनुसार लिगलाई आगामी दिनमा अझ व्यवस्थित र व्यावसायिक बनाउँदै लैजाने लक्ष्य राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *