बुटवल। बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको हालै सम्पन्न ११औँ पूर्ण बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो।
प्रतियोगिता आगामी असोज १२ देखि १७ गतेसम्म बुटवल मण्डपमा सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपालका तीन टोलीसँगै भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका टोलीलाई सहभागी गराउने तयारी गरिएको छ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार यसपटक प्रतियोगितालाई विगतको इन्डो–नेपाल भलिबल प्रतियोगिताभन्दा व्यापक र अन्तर्राष्ट्रिय स्वरूपमा आयोजना गर्न लागिएको हो।
प्रतियोगिताको विजेताले उपाधिसहित ७ लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले ३ लाख ५० हजार, तेस्रो हुने टोलीले १ लाख ७५ हजार र चौथो टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ८ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
आयोजकका अनुसार प्रतियोगितामा करिब १२८ खेलाडी र १५० जना अफिसियल सहभागी हुनेछन्। प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
बैठकले एकेडेमीको प्रदेश संरचनालाई थप सक्रिय बनाउने निर्णय गर्दै विभिन्न पदाधिकारी तथा प्रदेश संयोजकको जिम्मेवारीसमेत हेरफेर गरेको जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्