रूकुम पश्चिमको बाफिकोट गाउँपालिका–७ लिस्नेमा शुक्रबार बेलुका भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ। मृतकमध्ये ६ जनाको सनाखत गरिएको छ भने एक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजंग बुढा, आठबिसकोट–१५ की दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया सर्मिला विक र २२ वर्षीया गोपाल वली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक हरि पुनका अनुसार दुर्घटनामा घाइते भएका १० जनाको पनि पहिचान खुल्न बाँकी छ। सबै घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाइएको उनले जानकारी दिए।
प्रहरीका अनुसार खलंगाबाट स्यालाखाँदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको यात्रुबाहक जिप बेलुकी साढे ५ बजेतिर करिब ७ सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार मृतकहरू तिहार मनाएर घर फर्किँदै गर्दा दुर्घटना भएको हो।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्