इलामको बाढी-पहिरोमा ज्यान गुमाउने ८ जनाको सनाखत, मृत्यु हुनेको संख्या २८ पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १९

काठमाडौं, असोज १९ इलाममा लगातार परेको अविरल वर्षापछि गएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ। तीमध्ये ८ जनाको सनाखत गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

डिएसपी थापाका अनुसार, इलाम जिल्लाको सूर्योदय नगरपालिका-१ मा पाँच जनाको मृत्यु भएको छ। मृतकमध्ये ६०/६५ वर्षीया मनमाया क्षेत्री, ११ वर्षीया रश्मिका क्षेत्री, ४० वर्षीया एक महिला र १५ वर्षीया एक बालिका छन्। थप दुई जनाको नाम भने खुल्न बाँकी छ।

त्यस्तै, इलाम नगरपालिका-६ मा २३ वर्षीय समिर देउसाली, २३ वर्षीय प्रविन पाख्रिन, २३ वर्षीय विराज पाख्रिन र ३२ वर्षीय अनु तामाङको ज्यान गएको छ। साथै, पाहुना गएका ३२ वर्षीय प्रनिशिका मगर र ४ वर्षीय आरूष दनुवारको पनि मृत्यु भएको छ, तर उनीहरूको ठेगाना खुल्न बाँकी रहेको बताइएको छ।

इलामका विभिन्न ६ वटा पालिकामा बाढी-पहिरोका कारण जनधनको ठूलो क्षति भएको छ। देउमाई नगरपालिकामा २ जना, फाकफोकफुङ गाउँपालिकामा १ जना, माङ्सेबुङ गाउँपालिकामा ३ जना, माइजोकमाइ गाउँपालिकामा ८ जना र सन्दकपुर गाउँपालिकामा ३ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

यसैबीच, माङ्सेबुङ गाउँपालिकाबाट नेपाली सेनाले २ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ। उद्धार गरिएकामध्ये एक जना पुरुष र एक जना गर्भवती महिला रहेको र उनीहरूलाई विराटनगरस्थित अस्पताल पठाइएको डिएसपी थापाले जानकारी दिए।

सरकार र सुरक्षा निकायहरू उद्दार तथा राहतमा खटिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *