संसद पुनः स्थापनाको मुद्दामा आन्दोलनमा जाने ओलीको घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २७

काठमाडौं –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनः स्थापनाको मुद्दा लिएर देशव्यापी आन्दोलनमा जानुपर्ने धारणा राखेका छन्। एमालेको ५८ औं केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले वर्तमान सरकारलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै यसविरुद्ध संघर्ष आवश्यक रहेको बताएका हुन्।

बैठकमा अधिकांश सचिवालय सदस्यहरू संसद पुनः स्थापनाको विपक्षमा रहे पनि ओलीले एकलौटी ढंगमा निर्णय अघि बढाएको आरोप लागेको छ। उपमहासचिव प्रदीप ज्ञवाली लगायत केही नेताहरूले मध्यमार्गी धारणा राख्दै चुनावको वातावरण सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए।

ज्ञवालीले सरकार निर्वाचनको बाटोमा नहिँडेर निषेध र प्रतिशोधको बाटो रोजेको आरोप लगाए। सुरक्षाको संवेदनशील अवस्थाबीच नेताहरूको सुरक्षा फिर्ता गरिएको, अपराधीहरूलाई संरक्षण दिइएको, र हिंसाका घटना बढ्दै गएको भन्दै उनले सरकारप्रति गम्भीर प्रश्न उठाए।

बैठकमा संसद विघटन असंवैधानिक हो भन्नेमा सहमति भए पनि पुनः स्थापनाको निर्णय तत्कालै लिनु नपर्ने धारणा केही नेताहरूको रहेको थियो। तर, ओलीले सो प्रतिवाद अस्वीकार गर्दै पुनः स्थापनाबाट नहच्कनुपर्ने बताए।

ज्ञवालीले निष्कर्ष सुनाउँदै वर्तमान सरकारले निष्पक्ष निर्वाचन गराउने वातावरण सिर्जना गर्न नसकेको र विश्वासको आधार समेत नरहेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *