कप्तान रोहित भन्छन्- घरेलु मैदानमा चारै खेल जितेर लिग-२ को शीर्ष तीनमा पर्छौं

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २३

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले बिहीबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनी (पिएनजी) विरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा चारै खेल जित्ने लक्ष्य रहेको बताएका छन्। 

यसअघि सोमबार युएईविरुद्ध उत्कृष्ट जित निकालेसँगै नेपालले लिग-२ को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने आशा जीवित नै राखेको थियो। 

‘युएईमा अन्तिम खेल जित्यौ। एकदमै खुसी छौं। यो सबै टिमको प्रयास हो। सबै जनाले योगदान दिए। नयाँ खेलमा नयाँ खेलाडी आएर टिमका लागि प्रदर्शन गरेको छ, एकदमै खुसी लागिरहेको छ,’ युएईविरुद्ध जितपछि पौडेलले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा भने, ‘अब बाँकी रहेका चार खेलमा राम्रो गरेर उत्कृष्ट तीनमा पर्ने अहिलेको लक्ष्य हो। हामी घरेलु मैदानमा चार खेल जितेर लिग-२ को शीर्ष तीनमा आउछौं।’ 

लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्। 

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ।

पाँचौ स्थानमा उक्लिएको नेपालले ३२ खेलबाट ३२ अंक जोडेको छ। युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा झरेको छ। पुछारको ‍पिएनजीको ३२ खेलबाट ९ अंक छ।

अब नेपाल, युएई र पिएनजीबीच नेपालमा फागुन २५ देखि लिग-२ को अन्तिम सिरिज हुँदैछ। यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *