
युएईमा रहेका नेपालको सिनियर क्रिकेट टिम र यू-१९ टिमले आज आ-आफ्ना खेल खेल्दैछन्। यू-१९ टिमको खेल नेपाली समयअनुसार सवा ११ बजे र सिनियर टिमको खेल मध्यान्ह पौने १२ बजे सुरु हुनेछन्।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत आजबाट नेपाल, पपुवा न्युगिनी (पिएनजी) र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज सुरु हुँदैछ। सिरिजमा आज नेपालले दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पिएनजीसँग खेल्दैछ।
अब लिग-२ मा सहभागी ७ मध्ये नेपाल, युएई र पिएनजीले अन्तिम दुई त्रिकोणात्मक सिरिज खेल्न बाँकी छ। तीनै टिमले यो महिना दुई सिरिजमा ४-४ गरी ८ खेल खेल्नेछन्।
लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। युएई २८ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा रहदा छैटौं स्थानको नेपालको २८ खेलबाट २६ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया