नेपालका कप्तान रोहित भन्छन्– घरेलु मैदानको भरपुर सदुपयोग गर्छौ

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र नेपालबीच मंगलबारबाट सुरु हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा सुखद् नतिजा निकाल्नका लागि नेपाली टोली तयार रहेको कप्तान रोहित पौडेलले बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता सुरु हुनुपूर्व सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा घरेलु टिम नेपालका कप्तान रोहितले नयाँ प्रशिक्षकको आगमनले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद् नतिजा निकाल्न नेपाली टोली तयार भएको बताए। 

एक साताअघि मात्र औपचारिक रुपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देशाईले नेपालका उमेर समूहका टोलीसँग काम गरिसकेकोले अहिलेको टोलीमा सहजै घुलमिल भएको कप्तान रोहितले बताए। घरेलु मैदानमा हुने सिरिज निकै महत्वपूर्ण रहेको भन्दै रोहितले घरेलु मैदानको भरपुर सदुपयोग गर्ने बताए। 

यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले छोटो समयको क्याम्प निकै फलदायी भएको र १० दिनको अवधिमा आफूले खेलाडीमा भएको क्षमतालाई निखार्न प्रयास गरेको बताए। 

सिरिज नेपालका लागि निकै महत्वपूर्ण र कठिन दुवै भएको बताउँदै सुखद् नतिजाका लागि खेल्ने प्रशिक्षकको भनाइ छ। 

स्कटल्याण्ड टोलीका कप्तान रिची बेरिङटनले पनि लिग–२ तालिकामा आफ्नो टोली बलियो अवस्थामा रहे पनि घरेलु दर्शकको उत्साहजनक साथ पाउने नेपालसँग खेल्न सहज नहुने बताए। 

नामिबियाका प्रशिक्षक मोर्ने मोर्कलले आफ्नो टोलीको लिगमा ६ खेल बाँकी रहेको र बाँकी सबै खेल निकै महत्वपूर्ण रहेको बताए। उनले आफ्नो टोली शीर्ष चारमा अटाइसेको र दोस्रो स्थानमा अटाउने लक्ष्यमा नामिबिया रहेको रहेको भन्दै नेपालको भ्रमण राम्रो बनाउने बताए। 

सिरिज अन्तर्गत स्कटल्याण्डले विश्वकप लिग–२ अन्तिम चार खेल नेपालमा खेल्दैछ। स्कटल्याण्डले जुन र जुलाईमा जिम्बाबेमा आयोजना हुने विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने नामिबिया दोस्रो स्थानमा अटाउने योजनाका साथ खेल्नेछ। 

लिगमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ। स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने नामिबिया ३० खेल खेले ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फागुन ९ गते सम्म हुनेछ। सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग फागुन २ मा खेल्नछ। यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ। नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा पुनः खेल्नेछ।

सिरिजका लागि नेपाली टिम 
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुल्शन झा, भीम सार्की, सूर्य तामाङ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *