अनलाइन ‘स्क्यामिङ’ भयावह बन्दै , सयौँ उद्धारको पर्खाइमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १३

काठमाण्डौँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्माको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ) केन्द्रहरू चलाउने सङ्गठित आपराधिक समूहको फन्दामा परी बन्धक बनाइनेक्रम बढेको छ ।

कम्प्युटरसम्बन्धी ज्ञान भएका, युएई, मलेसियालगायत मुलुकमा पहिले नै वैदेशिक रोजगारीको अनुभव भएका नेपालीलाई आकर्षक तलब पाइने कामको प्रलोभन देखाई यस्ता ठगी केन्द्रमा लैजाने गरेको देखिएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार सन् २०२२ देखि हालसम्म विभिन्न मितिमा थाइल्याण्ड तथा म्यान्मामा रहेका नेपाली राजदूतावासले ती राजदूतावास रहेका मुलुकका सरकारको सहयोग र समन्वयमा त्यस्ता स्क्यामिङ केन्द्रहरूबाट उद्धार गरिएको पीडित नेपालीको कूल सङ्ख्या ३९२ रहेको छ । त्यस्तै हाल ३०९ नेपाली नागरिक उद्धारका लागि प्रक्रियामा रहेका छन् ।

यस्तै, हाल म्यान्माको आदालतले १८ जना नेपालीहरूलाई गैरकानुनी रूपमा प्रवेश गरेको भनेर एक वर्ष कैद सयाज सुनाएको छ । सो सम्बन्धमा याङ्गुनस्थित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्माको सरकारी पदाधिकारीहरूसँग भेटघाट गरी छलफल गरेको मन्त्रालयले जनाएको छ । यसैगरी, उक्त मुलुकहरूका स्क्याम केन्द्रमा रहेका उद्धार गर्नुपर्ने नेपालीहरूको अनुमानित सङ्ख्या हजारौँ हुनसक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार त्यस्ता व्यक्तिहरूलाई ती केन्द्रहरूमा सुरक्षा गार्ड, अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगीलगायत क्रियाकलापमा जबर्जस्ती लगाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *