पश्चिम नवलपरासी । आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अश्लील आशयका सन्देश पठाएको आरोपमा विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन्।
सुस्ता गाउँपालिका–१, सिङाहास्थित न्यू लाइफ इङ्ग्लिस बोर्डिङ स्कुलका ४६ वर्षीय प्रिन्सिपल भरत न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई फेसबुक म्यासेन्जरमार्फत अनुचित प्रकृतिका सन्देश पठाएको आरोप उनीमाथि लागेको छ। घटनापछि पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले शनिबार राति न्यौपानेलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित सन्देशहरू सामाजिक सञ्जालमा समेत सार्वजनिक भएपछि विषय बाहिर आएको हो। पक्राउ परेका न्यौपानेलाई आवश्यक कानुनी प्रक्रियाका लागि अदालतबाट म्याद थप गरी घटनाको विस्तृत अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक रेशमलाल पौडेलले घटनाका विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्। आरोप पुष्टि वा खण्डन भने अनुसन्धान तथा कानुनी प्रक्रियापछि मात्र हुने प्रहरीले जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्