तिहारमा कस्तो रहला ? मौसम हेर्नुहोस्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १

काठमाडौँ । यस वर्षको तिहार पर्वमा देशभर कुनै ठूलो मौसमी प्रणालीको प्रभाव नरहने भए पनि पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली र फाटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शनिबार (कात्तिक १ गते) सार्वजनिक गरेको बुलेटिनअनुसार तिहारका प्रमुख चार दिनहरूको मौसम यस प्रकार रहनेछ:

🔸 कार्तिक ३ गते (लक्ष्मी पूजा):
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। यी क्षेत्रका एक–दुई स्थानमा फाटफुट वर्षा हुन सक्ने सम्भावना छ।

🔸 कार्तिक ४ गते:
पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ भने अन्यत्र मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा फाटफुट वर्षा हुने सम्भावना कायमै छ।

🔸 कार्तिक ५ गते (गोवर्धन पूजा):
देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

🔸 कार्तिक ६ गते (भाइटीका):
कोशी र मधेश प्रदेश सहित अन्य पहाडी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका अन्य भू–भागमा मौसम सफा रहनेछ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले तिहारको समयमा यात्रा गर्ने वा पर्व मनाउने सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक जानकारीमा सतर्क रहन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *