काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। पश्चिम नेपालका विभिन्न स्थानमा पछिल्लो समयदेखि नै वर्षा भइरहेको छ भने केही क्षेत्रमा अत्यधिक वर्षा मापन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा र नवलपुरलगायत क्षेत्रमा उल्लेख्यदेखि अत्यधिक वर्षा भएको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि केही स्थानमा वर्षाको सम्भावना छ।
त्यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थानमा तथा मधेश प्रदेशसहित कोशी र बागमतीका तराई भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा अत्यधिक भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसैगरी, आज राति हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि रातिको समयमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले बाढी, पहिरो तथा डुबानको जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्