काठमाडौं । हिन्दू धर्मावलम्बीले आज नागपञ्चमी पर्व श्रद्धापूर्वक नागको पूजाआजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी यस वर्ष अधिकमासका कारण सौरमासअनुसार भदौ १ गते परेको हो ।
नागपञ्चमीका दिन घरको मूलढोकामाथि विधिपूर्वक नागको तस्वीर टाँस्ने तथा नागलाई दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका सामग्री चढाएर पूजा गर्ने परम्परा छ । नागको पूजा गरेमा नाग, सर्प तथा बिच्छीलगायतका जीवबाट हुने दुःखबाट बच्नुका साथै अग्नि, मेघ र चट्याङको भयबाट समेत रक्षा हुने धार्मिक विश्वास रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार नागपूजाको परम्परा वैदिककालदेखि नै चलिआएको मानिन्छ । वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ । नागलाई प्रसन्न राख्दा वर्षा र पानीको अभाव नहुने विश्वासका कारण पनि नागपूजाको परम्परा विकास भएको धार्मिक मान्यता छ ।
धार्मिक ग्रन्थहरूमा भगवान् विष्णु शेषनागको शय्यामा शयन गर्ने तथा भगवान् शिवले नागको माला धारण गर्ने उल्लेख छ । त्यस्तै गणेशको एक हातमा नाग रहेको र लक्ष्मण तथा बलरामलाई शेषनागको अवतारका रूपमा मान्ने धार्मिक परम्परा रहेको छ ।
नागपञ्चमीसँग विभिन्न किंवदन्ती पनि जोडिएका छन् । प्रचलित किंवदन्तीअनुसार एक किसानले खेत खन्ने क्रममा नागका बच्चा मारेपछि उनकी आमा नागिनी क्रोधित भइन् । नागिनीले किसानका परिवारका सदस्यलाई समेत मारिन् । किसानकी छोरीले नागिनीको पूजा गरी दूध चढाएर क्षमा मागेपछि नागिनी प्रसन्न भएर मृत परिवारका सदस्यलाई पुनर्जीवन दिएको कथन छ । यही घटनाको सम्झनामा श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ ।
नागपञ्चमीका दिन आठ कुलका नाग—अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख—को विशेष पूजा गर्ने परम्परा छ । ब्राह्मण पुरोहितबाट पूजा गराई नागको तस्वीर घरको मूलढोकामा टाँस्ने गरिन्छ ।
आजका दिन खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्पलगायत घिस्रने जीवलाई नमार्ने धार्मिक मान्यता पनि रहेको छ ।
नागपञ्चमीका अवसरमा काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड तथा नागस्थानमा विशेष पूजाआजा हुँदैछ । भक्तजनले नागलाई दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका प्रसाद चढाएर पूजा गर्ने गरेका छन् ।
नागपञ्चमीपछि वैदिक सनातन हिन्दू धर्मावलम्बीका प्रमुख चाडपर्वको क्रम सुरु हुने धार्मिक मान्यता छ । यस पर्वले मानव र प्रकृतिबीचको सम्बन्ध तथा सर्पलगायत जीवजन्तुको संरक्षणप्रति समेत सचेत गराउने विश्वास गरिन्छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्