एनपीएल–२ को उपाधि भिडन्त शनिबार, सुदूरपश्चिम र लुम्बिनी फाइनलमा आमनेसामने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)–२ को रोमाञ्चक फाइनल खेल आउने शनिबार हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे निर्धारित फाइनलमा गत संस्करणका उपविजेता सुदूरपश्चिम रोयल्स र उत्कृष्ट प्रदर्शन गर्दै अघि बढेको लुम्बिनी लायन्स बीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुने छ।

पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो। दोस्रो क्वालिफायरमा लुम्बिनीले पनि विराटनगरलाई ४० रनले रोकेपछि दुवै टोली उपाधि नजिक पुगेका छन्।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम यसअघि जनकपुरसँग फाइनल हारेको बदला लिन उत्सुक छ भने रोहित पौडेल नेतृत्वको लुम्बिनी गत वर्षको निराशाजनक प्रदर्शनका कारण यसपटक ट्रफी हात पार्न सबै प्रयासमा छ। लिग चरणमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले हराएको थियो।

प्रतियोगिताको विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेतालाई ५१ लाख, तेस्रो टोलीलाई २५ लाख, र चौथो स्थान हासिल गर्ने टोलीलाई १५ लाख प्रदान गरिनेछ। नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा मंसिर १ गतेदेखि आयोजना गरिएको लिगमा आठ टोलीले सहभागिता जनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *