२८ वर्षपछि नर्वे विश्वकपमा, इटाली फेरि प्ले–अफमा धकेलियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १

एजेन्सी – नर्वे २८ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ। आइतवार भएको खेलमा नर्वेले इटालीलाई ४–१ ले पराजित गर्दै विश्वकप टिकट सुनिश्चित गरेको हो।

खेलमा एर्लिङ हालान्डले २ मिनेटको अन्तरमा २ गोल गर्दै नर्वेको जितमा महत्वपूर्ण भूमिका खेले। यसअघि बिहीवार एस्टोनियामाथि विजयसँगै नर्वेले छनोट लगभग पक्का गरेको थियो। इटालीलाई स्वतः छनोटका लागि नर्वेलाई ९ गोलले हराउनुपर्ने चुनौती थियो।

खेलको ११औँ मिनेटमा पियो एस्पोसिटोले फेडेरिको डिमार्कोको पासमा गोल गर्दै इटालीलाई शुरुआती अग्रता दिलाए। त्यसपछि इटालीले लगातार आक्रमण गरे पनि पहिलो हाफमा थप गोल गर्न सकेन।

दोस्रो हाफमा भने खेल नर्वेको पक्षमा मोडियो। ६३औँ मिनेटमा एन्तोनियो नुसाले बराबरी गोल गरे। त्यसपछि ओस्कर बोब्बको क्रसमा हालान्डले ७८औँ मिनेटमा गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए। एक मिनेटपछि हालान्डले दोस्रो गोल थपे।

इन्ज्युरी समयमा जोर्गेन स्ट्रान्ड लार्सेनले गोल गर्दै नर्वेको ४–१ को जित पक्का गरे। यो जितसँगै हालान्डले विश्वकप छनोटका ८ खेलमा १६ गोल गरेका छन्।

नर्वेको यस विश्वकप प्रवेशले एर्लिङ हालान्डका बुवा अल्फ इंगे हालान्डको यात्रालाई दोहोर्याएको छ। उनका बुवाले १९९८ विश्वकपमा नर्वेबाट खेलेका थिए।

इटाली भने फेरि प्ले–अफमा धकेलिएको छ। २०१८ मा स्विडेनसँग १–० र २०२२ मा नर्थ म्यासेडोनियासँग १–० ले हार्दै विश्वकप गुमाएको इटाली यसपटक पनि नियमित छनोटबाट विश्वकप स्थान बनाउन असफल रह्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *