×

विश्वकप छनोटको बाँकी खेल नेपालले कुवेतमा खेल्ने

फाल्गुन २८, २०७७ | दाक्सु मिडिया

काठमाडौँ – विश्वकप छनोटका नेपालको बाँकी खेल सबै कुवेतमा हुने भएको छ । एसियाली फुटबल महासंघ (एएफपी) ले एसियाको विश्वकप छनोट समूह ‘बी’ का बाँकी सबै खेल एक स्थानका रूपमा कुवेतमा गर्ने शुक्रबार निर्णय गरेको हो ।
यससँगै कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका नेपालमा हुने भनिएका सबै खेल नहुने भएको छ । नेपालको समूहमा कुवेतसँगै अस्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेयी रहेका छन् ।
त्यसमध्ये नेपालले अस्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेईविरुद्ध खेल्न बाँकी छ र यी खेल यसअघि काठमाडौंको दशरथ रंगशालामा हुने तय थियो । अब छनोटका खेल मे ३१ देखि जुन १५ सम्म हुने भएको छ ।
छनोटमा नेपालले अहिलेसम्म पाँच खेल खेलेको छ र त्यसबाट नेपालको तीन अंक छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण स्थगित भएका छनोटका खेल पछिल्लो समय विभिन्न देशमा भ्रमण प्रतिबन्ध रहेका कारण एकै थलोमा गर्ने निर्णय भएको हो ।
छनोटका अन्य खेलमध्ये समूह ‘ए’ को चीन, समूह ‘सी’ को बहराइन, समूह ‘डी’ को साउदी अरेबिया, समूह ‘ई’ को कतार, समूह ‘एफ’ को जापान, समूह ‘जी’ को यूएई र समूह ‘एच’ को दक्षिण कोरियामा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: