काठमाण्डौँ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो संस्करण सुरु हुन अब केही दिन मात्र बाँकी छ । यसपटक अधिकांश खेलहरू फ्लडलाइटमा खेलिने पनि तय भइसकेको छ ।
एनपीएल नजिकिँदै जाँदा आठवटै टोलीले विदेशी खेलाडीहरू अनुबन्ध गर्ने क्रम जारी छ । खेलाडी अनुबन्ध हुने क्रमसँगै प्रशिक्षकहरूको भने टुंगो लागिसकेको छ ।
केही टोलीले गत संस्करणकै प्रशिक्षकलाई यसपटक पनि निरन्तरता दिँदा केहीले नयाँ प्रशिक्षक नियुक्त गरेका छन् ।
साविक विजेता टोली जनकपुर बोल्ट्सले उपाधि विजेता प्रशिक्षक पुबुदु दासानायकेलाई यसपटक निरन्तरता दिएको छैन । जनकपुरले यसपटक वेस्ट इन्डिजका लेजेन्डरी खेलाडी शिवनराइन चन्द्रपललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
चन्द्रपल वेस्ट इन्डिजका सर्वकालीन महान खेलाडीमध्येका एक हुन् । दुई दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका चन्द्रपलले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजारभन्दा बढी रन बनाएका छन् । उनले टेस्टमा ११ हजार ८ सय भन्दा बढी रन बनाउँदा ओडिआईमा ८ हजार ७०० भन्दा बढी रन बनाएका छन् ।
गत संस्करणको उपविजेता टोली सुदूरपश्चिमले दोस्रो संस्करणका लागि पनि मुख्य प्रशिक्षकमा नेपालकै अनुभवी प्रशिक्षक जगत टमाटालाई निरन्तरता दिएको छ ।
गतवर्ष फाइनलमा पुगेर पराजित भएको सुदूरपश्चिमलाई यसपटक उपाधि दिलाउने लक्ष्य टमाटाको छ । टमाटाले राम्रो तयारी भएको बताएका छन् ।
चितवन राइनोजको मुख्य प्रशिक्षकमा गत सिजनका सहायक प्रशिक्षक कलाम अली नियुक्त भएका छन् । गत संस्करणमा प्लेअफसम्म पुगेको चितवनलाई यसपटक उपाधि दिलाउने हिसाबले प्रदर्शन गर्ने प्रशिक्षक अलीको भनाइ छ । गत सिजन सहायक प्रशिक्षकमा रहेका अलीलाई यसपटक मुख्य प्रशिक्षक बनाइएको छ ।
यस्तै, कर्णाली याक्सले पनि अघिल्लो सिजनकै प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई यस सिजन पनि निरन्तरता दिएको छ । गत संस्करणमा प्लेअफसम्म पुगेको कर्णाली दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । यसपटक विदेशी खेलाडी र नेपाली खेलाडीबाट अपेक्षाकृत प्रदर्शन हुने र गत सिजनजस्तै प्लेअफमा पुगेर उपाधि पनि जित्ने लक्ष्य राखेको मल्लले बताएका छन् । मल्ललाई सहायक प्रशिक्षकमा राजु बस्न्यातको साथ छ ।
यता, काठमान्डुले यसपटक नेपाली टोलीको प्रशिक्षक रहिसकेका भारतीय मोन्टी देशाइलाई प्रशिक्षकका रूपमा नियुक्त गरेको छ ।
मोन्टीको दुई वर्षे कार्यकालमा नेपाली क्रिकेटले ओडीआई मान्यता बचाउनेदेखि पहिलो पटक एसिया कप खेल्ने र टी(२० विश्वकपमा दशकपछि पुनरागमन समेत गरेको थियो ।
यसैबीच, विराटनगर किङ्सले गत सिजनका उपाधि विजेता प्रशिक्षक पुबुदु दासानायकेलाई यसपटक मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पुबुदु नेपालमा आइसकेका भने छैनन् ।
टोलीका कन्सल्टेन्ट प्रशिक्षक धम्मिका प्रसादले पुबुदु एसोसियट क्रिकेटकै उत्कृष्ट प्रशिक्षक भएको बताउँदै उनको प्रशिक्षणमा उपाधि जित्न टोली सक्षम रहेको बताएका छन् ।
पोखरा एभेन्जर्सले पनि दोस्रो संस्करणका लागि गत संस्करणकै प्रशिक्षक राजिव कुमारलाई निरन्तरता दिएको छ । गत सिजन सातौं स्थानमा रहेको पोखरालाई यसपटक नतिजा सुधार गर्नपर्ने दबाब छ ।
यसैगरि, लुम्बिनी लायन्सले भारतका टिनु योहान्नानलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनीसँग मेन्टरको भूमिकामा भारतकै रोबिन सिंह पनि छन् ।
गत सिजन तालिकाको पुछारमा रहेको लुम्बिनीले यसपटक त्यो नतिजा उल्टाउने लक्ष्यमा हुनेछ । प्रशिक्षक टिनुले त्यसको नेतृत्व गर्नेछन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्