२० ओभरमै पिएनजीले महत्वपूर्ण ४ विकेट गुमायो

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २९

आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दैछ। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

मध्यम प्रदर्शन गरिरहेको पिएनजी २० ओभरको समाप्तीमा ४ विकेट गुमाएर ७२ रन बनाएर खेलिरहेको छ।

उसका लागि कप्तान असाद भालाले सर्वाधिक २० रन बनाए। सन्दीप लामिछानेको बलमा आउट हुनुअघि उनले ३१ बल खेल्दै २ चौका प्रहार गरेका थिए।

यस्तै सेसे बाउले १८ रन बनाए। लामिछानेकै बलमा बोल्ड हुनुअघि उनले २८ बल खेलेर ३ चौका प्रहार गरेका थिए।

सोमपाल कामीले ओपनर हिरी हिरीलाई १४ रनमा आउट गराउँदा ललित राजबंशीले अर्का ओपनर किपेलिन डोरिगालाई २ रनमा बोल्ड गरे।

***

आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ। आइतबार टिममा रहेका गुल्सन झाको स्थानमा करण केसी टिममा फर्किएका छन्। 
नेपाली टिम : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, करण केसी र सन्दीप लामिछाने। 
नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो। सात टिमबीचको लिग-२ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ।

अब बाँकी रहेका दुई खेलमा जित निकाले नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। नेपालको ३४ खेलबाट ३६ अंक पुगेको छ। बाँकी दुवै खेल जिते नेपालले नामिबियालाई पछि पार्नेछ।

नेपालको जितले अंक तालिकाको पाँचौ स्थानमा झरेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ। युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। 

नेपालसँगको हारसँगै युएईको लिग-२ बाटै एकदिवसीय मान्यता जोगाउने अवसर सकिएको छ। अब बाँकी रहेका दुवै खेलमा जित निकाले पनि अमेरिकासँग हेड टु हेडमा पछि रहेको युएई छैटौं स्थाममै सीमित हुनेछ। 

नेपालले आइतबार युएईलाई पराजित गरेसँगै अमेरिकाको एकदिवसीय मान्यता भने लिग-२ बाटै जोगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *