काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएकी छन्।
उपसभामुख कुमारीले आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएकी हुन्।
बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो पारिश्रमिक सहयोग गर्न लागेको उनको सचिवालयले जनाएको छ।
यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले पनि बाढीपीडितका लागि आफ्नो तलबबाट सहयोग गर्ने घोषणा गरेका छन्।
कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी ६२ जना सांसदले सहयोग गर्ने भएका छन्। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित केही सांसदले एक महिनाको तलब दिने भएका छन् भने अधिकांश सांसदले १५ दिनको तलब सहयोग गर्ने भएका छन्।
त्यस्तै, एमाले सांसद मोहम्मद इश्तियाक राईले एक महिनाको तलब दिने भएका छन् भने अन्य एमाले सांसदले १५ दिनको तलब सहयोग गर्ने भएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले पनि १५ दिनको तलब सहयोग गर्ने भएका छन्। नेकपाले सांसदसँगै उनीहरूका स्वकीय सचिवको समेत १५ दिनको तलब बाढीपीडितलाई सहयोग गर्ने जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्