दैनिक १ लाख सिलिन्डर माग,१८२५९ सिलिन्डर मात्र बितरण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २३

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण ढुवानी प्रभावित हुँदा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति घटेको छ ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले त्रिभुवन राजपथ हुँदै वैकल्पिक मार्गबाट ग्यास ढुवानी गरिरहेका छन् । घुमाउरो र असहज बाटोका कारण मागअनुसार ग्यास ल्याउन नसकिएको व्यवसायीहरूले बताएका छन् ।

मंगलबार उपत्यकामा ९ वटा ग्यास कम्पनीका जम्मा १८ हजार २५९ सिलिन्डर मात्र डिलरहरूमार्फत बजारमा पुगेका छन् । एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार पछिल्ला दिनमा उपत्यकाको दैनिक माग करिब १ लाख सिलिन्डर पुगेको छ । सामान्य अवस्थामा भने दैनिक ३५ देखि ४० हजार सिलिन्डर आवश्यक पर्ने गरेको उनले बताए ।

नेपाल आयल निगमका अनुसार मंगलबार सगरमाथा ग्यासले सबैभन्दा धेरै ४ हजार ६९९ सिलिन्डर बजारमा पठाएको छ । एभरेस्टले ३ हजार ४७५, सुगमले २ हजार ४२३ र एसटीसी ग्यासले २ हजार १४६ सिलिन्डर वितरण गरेका छन् ।

आपूर्ति घटेपछि उपभोक्ताहरू ग्यासका लागि डिलर तथा उद्योगमा घण्टौँ लाइन बस्न बाध्य भएका छन् । ढुवानी सहज नभएसम्म उपत्यकामा ग्यास अभावको समस्या थप बढ्न सक्ने व्यवसायीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *