काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर खण्डमा पहिरो गएर मुख्य सडक अवरुद्ध भए पनि वैकल्पिक मार्गबाट पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार थान एलपी ग्यास सिलिन्डर भित्रिएको छ।
नेपाल आयल निगमका अनुसार भदौ १८ देखि २० गतेसम्म ८७ हजार ८ सय ७७ सिलिन्डर ग्यास काठमाडौं ल्याइएको हो।
निगमका अनुसार भदौ १८ गते २४ हजार ४ सय ९४, १९ गते ३४ हजार १ सय ३४ र २० गते २९ हजार २ सय ४९ सिलिन्डर ग्यास काठमाडौं भित्रिएको छ।
सडक अवरुद्ध हुँदा उपत्यकामा ग्यास आपूर्तिमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै तराईका उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्गमार्फत काठमाडौं ल्याउने व्यवस्था गरिएको निगमले जनाएको छ।
काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकका ग्यास उद्योगका सिलिन्डर अर्को व्यवस्था नभएसम्म बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट उपत्यका ल्याउने व्यवस्था मिलाइएको निगमले जनाएको छ।
वैकल्पिक मार्गबाट उपत्यका भित्रिएका ग्यासमा श्री, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा/श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट/सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सीताश्री र नमस्तेलगायत १६ उद्योगका ब्रान्ड रहेका छन्।
पृथ्वी राजमार्गको कृष्णभिर खण्ड नियमित सञ्चालनमा नआएसम्म यही वैकल्पिक प्रक्रियाबाट ग्यास आपूर्ति तथा बिक्री वितरणलाई निरन्तरता दिइने नेपाल आयल निगमले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्