काठमाडौँ । नेपाल र चीनको तिब्बतमा गएको विनाशकारी बाढीपहिरोका विषयमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अस्ट्रेलियाली संसद्मा सम्बोधन गरेकी छन्।
बाढीपहिरोबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै उनले बेपत्ता अस्ट्रेलियाली नागरिकको खोजी तथा विपद् प्रतिकार्यका लागि करिब ५० जना अधिकारीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिइन्।
संसद्मा बोल्दै वोङले नेपाल र तिब्बतमा बाढीले सहर, गाउँ, घर, सडक र पुलहरू बगाएको भन्दै क्षतिको वास्तविक मापन अनुमानभन्दा बाहिर रहेको बताइन्।
बेपत्ता नागरिकको खोजीमा चौबीसै घण्टा संयन्त्र
अस्ट्रेलिया सरकारले सम्पर्कविहीन आफ्ना नागरिकको अवस्था पत्ता लगाउन काठमाडौँ, बेइजिङ, नयाँदिल्ली र क्यानबेरास्थित अधिकारीहरूलाई चौबीसै घण्टा परिचालन गरेको उनले बताइन्।
बेपत्ता नागरिकका परिवारलाई निरन्तर सूचना र सहयोग उपलब्ध गराउन परराष्ट्र तथा व्यापार मन्त्रालय र अस्ट्रेलियाली संघीय प्रहरीका विशेष केस अफिसरहरू तोकिएको पनि उनले जानकारी दिइन्।
काठमाडौँमा परिवार सहायता केन्द्र स्थापना हुँदै
प्रभावित परिवारको सहयोगका लागि सर्भिसेस अस्ट्रेलियाका दुई सामाजिक कार्यकर्ता काठमाडौँ आइपुगेको भन्दै वोङले अस्ट्रेलियाली दूतावासले परिवार सहायता केन्द्र स्थापना गरिरहेको बताइन्।
विपद्ले अस्ट्रेलियामा रहेका नेपाली, तिब्बती र हिन्दु समुदायलाई समेत गहिरो असर पारेको उल्लेख गर्दै उनले प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाइन्।
अस्ट्रेलियाली सिनेटले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति शोक व्यक्त गर्दै घटनामा आफन्त तथा परिवारको खबर पर्खिरहेका व्यक्तिहरूप्रति समवेदना प्रकट गरेको छ।
वोङले कठिन परिस्थितिमा नेपाल, तिब्बत र अस्ट्रेलियाबाट उद्धार तथा राहत कार्यमा खटिएका सबै उद्धारकर्मीलाई अस्ट्रेलिया सरकारका तर्फबाट धन्यवाद दिइन्।
यसअघि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि संसद्मा सम्बोधन गर्दै नेपाल–चीन तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका थिए।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्