स्याफ्रुबेसीमा बाढीको घाउ, अझै बाँकी छ उद्धारको आशा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १५

रसुवा । भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीपछि रसुवाको माथिल्लो भेगमा उद्धार तथा राहतको काम अझै चुनौतीपूर्ण बनेको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको टोली प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा निरन्तर खटिएका छन्।

नुवाकोट र धादिङका अधिकांश प्रभावित क्षेत्रमा उद्धार तथा राहतका गतिविधि अघि बढे पनि रसुवाको टिमुरे, स्याफ्रुबेसी र रसुवागढी क्षेत्रमा अवस्था अझै सहज हुन सकेको छैन।

बाढीको ठूलो क्षति व्यहोरेको स्याफ्रुबेसी बजार अहिले अस्तव्यस्त देखिन्छ। बाढीले घर, सडक तथा बजार क्षेत्रका संरचनामा क्षति पुर्‍याएपछि स्थानीयवासी विस्थापित र त्रसित अवस्थामा छन्।

बाढीमा आफन्त गुमाएका परिवारको पीडा झन् गहिरो छ। आफन्तको अवस्था अझै यकिन हुन नसकेकाहरू भने उद्धार टोलीले खोजी गरिरहेको भन्दै ‘कतै भेटिन्छन् कि’ भन्ने आशामा बसेका छन्।

बाढीको त्रासदी सम्झिँदा स्थानीयवासी अझै भावुक हुन्छन्। उनीहरूका लागि भदौ १० को दिन जीवनकै कहिल्यै नबिर्सने दिन बनेको छ।

“यस्तो बाढी हामीले जीवनमा कहिल्यै देखेका थिएनौँ। त्यो दिन हाम्रा लागि कालो दिन बन्यो,” स्याफ्रुबेसीका स्थानीयवासीको भनाइ छ।

विपत्तिले भौतिक संरचना मात्रै होइन, स्थानीयको मनमा समेत गहिरो चोट छाडेको छ। राहत र उद्धार टोलीको निरन्तर उपस्थितिले केही आशा जगाए पनि बेपत्ता आफन्तको खोजी र पुनःस्थापनाको प्रतीक्षामा स्याफ्रुबेसीवासीको दिन बितिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *