काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल–चीन तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा नेपाल एक्लै नरहेको बताएका छन्।
अस्ट्रेलियाली संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजले बाढीका कारण आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टि गरेका छन्। उनले बेपत्ता नागरिकका परिवार र आफन्तप्रति सम्पूर्ण अस्ट्रेलियाली जनताको ध्यान केन्द्रित रहेको बताए।
गत अगस्ट २६ मा हिमपहिरोपछि आएको बाढीले नेपाल र चीनको तिब्बततर्फ ठूलो क्षति पुर्याए पनि सबैभन्दा ठूलो मानवीय क्षति नेपालले व्यहोर्नुपरेको उनले उल्लेख गरे।
‘धेरैले आफ्ना प्रियजन, घर, सिङ्गो गाउँ र जीवनयापनका आधारहरू गुमाएका छन्। हरेक बित्दो दिनसँगै बेपत्ता भएकाहरू भेटिने आश चमत्कारजस्तै बन्दै गएको छ,’ अल्बानिजले संसद्मा भने।
उनले नेपालले राष्ट्रिय शोक मनाइरहेको सन्दर्भमा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै नेपाली नागरिकलाई दुःखको यस घडीमा आफूहरू एक्लो नरहेको सन्देश दिएका छन्।
‘आज नेपालले राष्ट्रिय शोक मनाइरहँदा म हाम्रा नेपाली साथीहरूलाई भन्न चाहन्छु– यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न,’ उनले भने।
अल्बानिजले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरी अस्ट्रेलिया सरकारका तर्फबाट गहिरो समवेदना प्रकट गरेको जानकारीसमेत दिए।
समुदायसँग निरन्तर समन्वय
अस्ट्रेलिया सरकारले अस्ट्रेलियामा रहेका नेपाली, तिब्बती र भारतीय समुदायसँग निरन्तर समन्वय गरिरहेको पनि प्रधानमन्त्री अल्बानिजले बताए।
उनले विपद्मा बेपत्ता भएकाहरूको खोजी जारी रहेकाले आशा नहार्न र प्रार्थना गर्न सम्पूर्ण अस्ट्रेलियाली नागरिकलाई आग्रह गरे।
विपद् राहतका लागि सञ्चालन गरिएको आपत्कालीन राहत अपिलमा अस्ट्रेलियाली जनताले देखाएको उदारता र सहयोगको पनि उनले प्रशंसा गरे।
‘यसले हामी जस्तोसुकै ठूलो विपद्को पनि एकजुट भएर र साझा मानवीय भावनाका साथ सामना गर्न सक्छौँ भन्ने शक्तिशाली सन्देश दिएको छ,’ अल्बानिजले भने।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्