काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत आयोजनाका सुरुङमा फसेका तथा बेपत्ता व्यक्तिको खोजी कार्य सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म जारी रहने नेपाली सेनाले जनाएको छ ।
सोमबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले सरकारले खोजी रोक्न निर्णय नगरेसम्म सबै सुरुङमा निरन्तर खोज तथा उद्धार गरिने बताए ।
११ जलविद्युत आयोजना प्रभावित
भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)का अनुसार आयोजना स्थल तथा विद्युत् सुरुङमा रहेका ८९८ जना सम्पर्कविहीन छन् ।
रसुवामा रसुवागढी, रसुवा–भोटेकोशी, माथिल्लो मेलुङ–ए, लाङटाङ खोला, चिलिमे र मेलुङ खोला जलविद्युत आयोजना प्रभावित भएका छन् ।
त्यस्तै नुवाकोटमा त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी र मिडल त्रिशूली गङ्गा जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन् ।
११५ मिटर सुरुङभित्रबाट चिनियाँ नागरिकको उद्धार
नेपाली सेना, सशस्त्र प्रहरी तथा विदेशी उद्धारकर्मी सम्मिलित टोलीले अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङबाट एक जना चिनियाँ नागरिकलाई जीवितै उद्धार गरेको छ ।
उद्धार टोलीले सुरुङभित्र ११५ मिटर भित्र पुगेर उनलाई उद्धार गरेको हो । २१६ मेगावाट क्षमताको उक्त आयोजनाको सुरुङमा उद्धारकर्मीलाई समेत अक्सिजनको आवश्यकता पर्ने अवस्था रहेको सहायक रथी थापाले बताए ।
उनका अनुसार नेपाली र कोरियन उद्धारकर्मी संयुक्त रूपमा सुरुङभित्र प्रवेश गरेका थिए ।
त्रिशूली–३ एबाट दुई जीवित र एक शव निकालियो
नुवाकोटस्थित त्रिशूली–३ ए जलविद्युत आयोजनाको पावर हाउसमा चारवटा स्काभेटर र वाटर पम्प प्रयोग गरी उद्धार कार्य गरिएको सेनाले जनाएको छ ।
उद्धार टोलीले उक्त आयोजनाबाट दुई जनालाई जीवितै उद्धार गर्नुका साथै एक जनाको शव निकालेको छ । पावर हाउसको ढोका भेट्टाउन निरन्तर प्रयास भइरहेको र ढोकाभित्र ठूलो मात्रामा लेदो पसेका कारण उद्धारमा कठिनाइ भइरहेको सेनाले जनाएको छ ।
सहायक रथी थापाका अनुसार सुरुङको १७५ मिटरभित्र पावर हाउस रहेको र उद्धार टोलीलाई त्यहाँसम्म पुग्न १० दिन लागेको थियो ।
त्रिशूली–३ बीमा ४० जना पुरिएको आशङ्का
माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनामा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ । उक्त आयोजनास्थलमा नेपाली सेनाका ९० जना सुरक्षाकर्मीले निरन्तर खोज तथा उद्धार गरिरहेका छन् ।
खोजीका क्रममा जनशक्ति, साबेल तथा मिनी स्काभेटरको प्रयोग भइरहेको छ । त्रिशूली–३ ए हुँदै त्रिशूली–३ बीको सुरुङसम्म पुग्ने गरी उद्धार कार्य अघि बढाइएको सेनाले जनाएको छ ।
सेनाका अनुसार सुरुङभित्रको अवस्था चुनौतीपूर्ण रहे पनि सम्भावित व्यक्तिको खोजीलाई निरन्तरता दिइनेछ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्