काठमाडौँ । भारत, चीन र अमेरिकाजस्ता शक्तिराष्ट्रहरूको कूटनीतिक चासो सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेतर्फ बढेको देखिएको छ ।
प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग विदेशी राजदूतहरूको संवाद सुरु भए पनि उच्च तहमा हुने कूटनीतिक सम्पर्कमा पार्टी सभापति लामिछाने बढी सक्रिय देखिएका छन् ।
अमेरिकी विदेशमन्त्रीसँग टेलिफोन वार्ता
सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रास्वपा सभापति लामिछानेलाई टेलिफोन गरी रसुवा बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
रास्वपा स्रोतका अनुसार रुबियोले बाढी प्रभावित नेपाललाई अमेरिकी सहयोग प्राथमिकताका साथ निरन्तर रहने आश्वासन दिएका छन् । लामिछानेले नेपालको कठिन परिस्थितिप्रति दुःख व्यक्त गर्दै सहयोग र चासोका लागि अमेरिकी सरकारप्रति आभार व्यक्त गरेका छन् ।
मोदीसँग भेटदेखि चिनियाँ निमन्त्रणासम्म
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेठ २० गते लामिछानेलाई नयाँ दिल्लीमा निमन्त्रणा गरी भेटवार्ता गरेका थिए । लामिछानेले पार्टीको प्रतिनिधिमण्डलसहित मोदी तथा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरूसँग संवाद गरेका थिए ।
लामिछानेको भारत भ्रमणलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालको भ्रमण भएको थियो । प्रधानमन्त्री शाहसँग भारतीय तथा अन्य कूटनीतिज्ञहरूको भेटघाटको तुलनामा लामिछानेसँग भएको उच्चस्तरीय संवादले पनि कूटनीतिक वृत्तमा चासो बढाएको थियो ।
यद्यपि त्यसपछि भारतीय तथा चिनियाँ राजदूतहरूले प्रधानमन्त्री शाहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
चिनियाँ राष्ट्रपतिसँग भेटको तयारी
चिनियाँ पक्षले पनि लामिछानेलाई अगस्टमा चीन भ्रमणको निमन्त्रणा दिएको थियो । आन्तरिक कारण देखाउँदै उनले भ्रमण सेप्टेम्बर दोस्रो साताका लागि सारेका थिए ।
भ्रमणको अनौपचारिक कार्यतालिका तयार भइसके पनि औपचारिकता पाउन बाँकी रहेका बेला भोटेकोशी बाढीलगायत कारणले भ्रमण हाल स्थगित भएको रास्वपा स्रोतले जनाएको छ ।
चिनियाँ राष्ट्रपतिसँगको भेट सुनिश्चित गर्ने तथा केही अर्थपूर्ण एजेन्डा तय गर्ने विषयमा तयारी भइरहेकाले भ्रमण रोकिएको स्रोतको भनाइ छ । उपयुक्त समयमा उक्त भ्रमण हुने रास्वपा स्रोतले जनाएको छ ।
‘शक्तिको केन्द्र हेरेर सम्पर्क’
कूटनीति अध्येता तथा पत्रकार सुधीर शर्मा शक्तिराष्ट्रहरूले परम्परागत कूटनीतिक प्रोटोकलभन्दा सम्बन्धित देशमा शक्ति र पहुँच कहाँ छ भन्ने आधारमा सम्पर्क अघि बढाउने गरेको विश्लेषण गर्छन् ।
उनका अनुसार लामिछाने सत्तारुढ दलका शक्तिशाली सभापति हुनुका साथै प्रधानमन्त्री शाहको तुलनामा सहजै उपलब्ध हुनसक्ने राजनीतिक पात्र भएकाले पनि विदेशी शक्तिराष्ट्रसँगको सम्पर्कमा उनको भूमिका बढेको देखिन्छ ।
महासभामा जाने तयारीमा प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाने तयारीमा छन् । त्यहाँ उनले विश्व नेताहरूसँग भेटवार्ता गर्ने र नेपालको धारणा राख्ने तयारी भइरहेको बताइएको छ ।
प्रधानमन्त्रीको भ्रमणका लागि अमेरिकास्थित नेपाली दूतावास तथा परराष्ट्र मन्त्रालयले तयारी गरिरहेका छन् । यसअघि फागुनमा भएको निर्वाचनमा रास्वपाको ठूलो विजयपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँगै लामिछानेसँग पनि संवाद गरेका थिए ।
रास्वपाका सभापति लामिछानेसँग अन्य मुलुकहरूले समेत उच्च तहमा संवाद बढाइरहेको बुझिएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्