बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा राष्ट्रपति पौडेल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २२

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्।

अवलोकनका क्रममा राष्ट्रपति पौडेलले बाढी प्रभावित तथा पीडित नागरिकसँग भेटघाट गर्दै उनीहरूका समस्या र गुनासो सुनेका छन्।

खोजी, उद्धार र क्षतिबारे राष्ट्रपतिले लिए जानकारी

राष्ट्रपति पौडेलले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि भइरहेका प्रयास र बाढीबाट जिल्लामा भएको जनधनको क्षतिबारे जिल्ला सुरक्षा समितिसँग जानकारी लिएका छन्।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा समितिका सदस्यहरूले रसुवा बाढीका कारण नुवाकोटमा भएको क्षतिको विवरण राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका थिए।

प्रजिअ रेग्मीले बाढी प्रभावितको खोजी, उद्धार तथा राहत वितरणसँगै पुनर्स्थापना र तत्काल आवश्यक निर्माणका कामबारे भइरहेको प्रगतिबारे समेत जानकारी गराएका थिए।

होल्डिङ सेन्टर पुगेर पीडितसँग भेट

राष्ट्रपति पौडेलले नुवाकोटमा बाढी प्रभावित नागरिकलाई राखिएको होल्डिङ सेन्टरको समेत अवलोकन गरेका छन्।

त्यहाँ रहेका प्रभावित नागरिकहरूले भोटेकोशीमा आएको अकल्पनीय बाढीका कारण भएको जनधनको क्षति तथा आफूहरूले भोगिरहेका समस्याबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।

त्रिशूली र रसुवा क्षेत्रको पनि अवलोकन

राष्ट्रपति पौडेलले सोमबार नै नुवाकोटको त्रिशूलीमा रहेको नेपाली सेनाको क्याम्पको अवलोकन गरेका थिए। त्यसपछि उनले रसुवा बाढी प्रभावित क्षेत्रको समेत स्थलगत निरीक्षण गरेका छन्।

राष्ट्रपतिको स्थलगत अवलोकनका क्रममा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार, राहत, पुनर्स्थापना तथा तत्कालीन पुनर्निर्माणका कामबारे जानकारी लिइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *