काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले गत वर्ष असोजमा परेको अविरल वर्षाबाट उत्पन्न बाढी तथा पहिरोले क्षति पुर्याएका काभ्रेपलान्चोकका रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न वडाको निरीक्षण गरेका छन्।
स्थानीयबासीले सडक, पुल, खानेपानी तथा स्वास्थ्य चौकीहरू अझै पुनर्निर्माण नहुँदा समस्या भइरहेको गुनासो गरेपछि मन्त्री घिसिङले सम्बन्धित निकायका महानिर्देशक तथा अधिकारीसहित स्थलगत अवलोकन गरेका हुन्।
निरीक्षणपछि मन्त्री घिसिङले रोशी नदीले पुर्याएका क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई सरकारको प्राथमिकतामा राखी काम अघि बढाइने बताए। उनले प्रभावकारी सेवा प्रवाह र विपद् प्रभावित क्षेत्रको पुनर्स्थापना छिटो सम्पन्न गर्न बजेट विनियोजन भइरहेको पनि स्पष्ट पारे।
गत वर्ष असोज १०, ११ र १२ गतेको अविरल वर्षाले रोशी गाउँपालिका–१, २, ३ तथा नमोबुद्ध–८ र ९ का सडक, फलामे साँघु पुललगायत पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो। नदी किनार संरक्षण तत्काल नगरे पुलसमेत बग्ने जोखिम रहेको स्थानीयले जानकारी दिएका छन्।
नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले आवश्यक बजेट व्यवस्था हुने आश्वासन भए पनि पुनर्निर्माणका सबै काम पूरा हुन नसकेको बताए।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्