काठमाडौं । रसुवा बाढीका क्रममा त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा हराएका आफन्तहरूको खोजी तथा उद्धारको माग गर्दै पीडित परिवारका सदस्यहरू काठमाडौं आएका छन्।
बाढी गएको १३ दिन बितिसक्दा पनि सुरुङमा फसेका आफ्ना आफन्तहरूको प्रभावकारी खोजी हुन नसकेको गुनासो गर्दै उनीहरूले सोमबार माइतीघरमा धर्ना दिएका हुन्।
दुई साता पुग्न लाग्दा पनि सरकारले सुरुङमा हराइरहेका आफन्तको खोजीमा पर्याप्त ध्यान नदिएको उनीहरूको आरोप छ। आफन्तहरू अझै जीवित हुनसक्ने आशामा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन उनीहरूले सरकारसँग माग गरेका छन्।
धर्नाका क्रममा आफन्तहरूले ‘कति दिन घरमा बसेर कुर्ने ?’ र ‘कति दिन घरमा बसेर रुने ?’ जस्ता प्रश्न गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
उनीहरूले घटनास्थलमा पुगेर आफ्ना आफन्तको अवस्था बुझ्नसमेत नपाएको गुनासो गरेका छन्। घटनास्थल जान रोकिएको भन्दै उनीहरूले सरकारले आफूहरूलाई खोजी तथा उद्धारको अवस्थाबारे स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन्।
बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा मानिसहरू फसेका र बेपत्ता भएका घटनाहरू सार्वजनिक भएका छन्। खोज तथा उद्धारका क्रममा केही व्यक्तिलाई सुरुङबाट जीवितै उद्धारसमेत गरिएको विवरण सार्वजनिक भएको छ।
आफन्तहरूले आफ्ना परिवारका सदस्यहरूको अवस्था सार्वजनिक गर्न, खोजी कार्यलाई थप प्रभावकारी बनाउन र सम्भावित सबै स्थानमा तत्काल उद्धार टोली परिचालन गर्न सरकारसँग आग्रह गरेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्