एमाले केन्द्रीय कमिटी बैठकको २२ बुँदे निर्णय सार्वजनिक, पूर्णपाठ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३१

काठमाडौं ।नेकपा एमालेको केन्द्रीय कमिटीको दसौँ पूर्ण बैठक सकिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत विशेष प्रस्ताव सर्वसम्मतिले पारित गर्दै बैठक सम्पन्न भएको हो। बैठकले संसद पुनर्स्थापना मुख्य राजनीतिक माग हुने घोषणा गर्दै आगामी ११औँ महाधिवेशन मंसिर २७–२९ गते पोखरामा गर्ने निर्णय गरेको छ।

तीन दिनसम्म चलेको बैठकमा केन्द्रीय कमिटीका २३३ जना, पोलिटब्युरोका ४६ जना, स्थायी कमिटीका २१ जना र अन्य पदाधिकारीले मन्तव्य दिएका थिए।

अध्यक्ष ओलीले सरकार निर्वाचनको पक्षमा नभएको आरोप लगाउँदै लोकतन्त्र र संविधान जोगाउन संसद पुनर्स्थापना आवश्यक भएको बताए। बैठकले देशको पछिल्लो अस्थिर अवस्था र भदौ २३–२४ का घटनाबारे गम्भीर विश्लेषण गर्दै २२ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ।

प्रमुख निर्णय र प्रस्तावहरू (संक्षेपमा):

  1. संसद पुनर्स्थापनाको माग:
    असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने।
  2. भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन माग:
    देश दहन, आगजनी, हत्या र हिंसामा संलग्न दोषीहरूलाई कारबाही गर्न स्वतंत्र छानबिन समिति गठनको माग।
  3. जनधनको क्षतिप्रति श्रद्धाञ्जली र समवेदना:
    प्रदर्शन र हिंसामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली र घाइते तथा पीडितप्रति समवेदना।
  4. निर्वाचनको वातावरण नभएको आरोप:
    सरकार निर्वाचन टार्न खोजिरहेको, प्रतिपक्ष दमन गर्ने रणनीति अपनाएको आरोप।
  5. सुशासन र भ्रष्टाचारविरुद्ध कडा प्रतिबद्धता:
    भ्रष्टाचारको विरुद्धमा निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीको माग।
  6. शान्ति सुरक्षा स्थिति अत्यन्त नाजुक भएको मूल्याङ्कन:
    प्रहरी हतियार लुटिएको, जेल तोडिएको, राज्यविहीनता तर्फ अग्रसर रहेको भन्दै चिन्ता।
  7. महाधिवेशन मंसिर २७–२९ मा पोखरामा गर्ने निर्णय।
  8. जनसंवाद र पार्टी एकतामा जोड:
    विगतमा एमालेमा योगदान गरेका सदस्यहरूलाई पुनः पार्टीमा फर्कन आह्वान।
  9. प्राकृतिक विपत्तिप्रति चिन्ता र सहयोग आह्वान:
    इलामलगायतका बाढी–पहिरो पीडितलाई राहतको माग र पार्टी पंक्तिलाई सहयोग गर्न निर्देशन।
  10. खेलकुद क्षेत्रमा सफलताको स्वागत:
    टि–२० विश्वकपमा छनोट भएका नेपाली क्रिकेट टोलीलाई बधाई।
  11. तिहार, नेपाल सम्बत र छठको अवसरमा शुभकामना।

बैठकले समसामयिक राजनीतिक, सामाजिक र सुरक्षा सन्दर्भमा व्यापक प्रस्ताव पारित गर्दै पार्टीको दृष्टिकोण स्पष्ट पारेको छ। एमालेले लोकतन्त्र, संविधान, शान्ति, स्थायित्व र सुशासनका पक्षमा एकीकृत भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *