काठमाडौं : बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेले नागरिकका समस्या महसुस गरी राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन्। नागरिकहरूमा गुनासा, समस्याहरू रहेको तर राज्यले महसुस गर्न नसकेको हो कि भन्ने देखिएको उनको भनाइ छ।
राज्यले नागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्नेमा मन्त्री काफ्लेले जोड दिए। १११ औं बिपी जयन्तीका अवसरमा संवाद केन्द्रले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका काफ्लेले कांग्रेसको नेतृत्वमा ल्याएको लोकतन्त्रको संस्थागत विकासका कांग्रेसले नै बढी योगदान गर्नुपर्ने पनि बताए।
‘लोकतन्त्र बलियो बनाउन सके मात्रै जनतामा खुसीको सञ्चार हुन्छ। मुलुकको आर्थिक उन्नतिका पनि लोकतन्त्र अपरिहार्य छ,’ उनले भने, ‘राज्यले नागरिकका समस्यालाई सहानुभूति दिन नसकिरहेकाले अब कांग्रेसले नागरिकका समस्यामा केन्द्रित भएर राजनीति गर्नुपर्छ।’
उनले नागरिकका समस्या र गुनासा सम्बोधन गरिनुपर्ने बताए। ‘नागरिकका थुप्रै समस्या छन्, गुनासाहरू पनि छन्। अझै पनि राज्यले नागरिकको पीरमर्का महसुस गर्न सकेको छैन,’ उनले भने, ‘राज्यले नागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्छ। नागरिकका मुद्दालाई सम्बोधन गर्नु नै लोकतन्त्रको असली मर्म हो।’ शिक्षा, स्वास्थ्य, र रोजगारीका विषयमा राज्यले गर्न सक्ने काम पनि हाल नभएको उनको भनाइ थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया