इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ९

काठमाडौँ : इथियोपियाको गोफाको पहाडी क्षेत्रमा भारी वर्षापछि आइतबार साँझ र सोमबार बिहान गएको पहिरोमा परी २२९ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार दक्षिणी इथियोपियामा गएका दुईवटा पहिरोमा परी मृत्यु भएकामध्ये अहिलेसम्म २२९ जनाको शव उद्धार टोलीले निकालेको स्थानीय अधिकारीले बताएका छन्।

गोफा क्षेत्रका प्रशासक डग्मावी आयलेले मृतकमा वयस्क र बालबालिका दुवै रहेको बताएका छन्। बाँचेका १० जनाको अस्पतालमा उपचार भइरहेको छ। आइतबार भारी वर्षाका कारण पहिरो गएको डग्मावीले बताए। सोमबार प्रहरी अधिकारी र आसपासका मानिसहरू खोजी तथा उद्धारमा जुटेका बेला दोस्रोपटक पहिरो खसेपछि उनीहरू पुरिएका थिए।

‘हामी अझै खन्ने क्रममा छौँ’, उनले भने। गोफा प्रकोप व्यवस्थापनका प्रमुख मार्कोस मोलासेले अहिलेसम्म २२९ शव निकालिएको बताए। स्थानीय प्रशासनले बाँचेकाहरूको खोजी तीव्र गतिमा भइरहेको तर मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ।

फुटेजमा सयौँ मानिस घटनास्थलमा जम्मा भई तल फसेका मानिसको खोजीमा माटो खनिरहेको देखिन्छ। गोफा दक्षिणी इथियोपिया राज्यको हिस्सा हो। यो राजधानी अदिस अबाबाबाट ३२० किलोमिटर दक्षिण-पश्चिममा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *