५ लाखमा बेचेर ७२ वर्षीय पुरुषसँग बिहे गराइदिन लागिएकी १२ वर्षीया बालिकाको उद्धार

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ९

काठमाडौं : पाकिस्तानमा ७२ वर्षका एक व्यक्तिले १२ वर्षकी बालिकासँग बिहे गर्न लागेको एउटा अचम्मको घटना सार्वजनिक भएको छ । तर, प्रहरीले उक्त व्यक्तिलाई यो कार्य गर्नबाट रोकेको छ । बालिकालाई उनका बुवाले ५ लाखमा बेचेका थिए ।

पाकिस्तानी मिडिया आउटलेट एक्सप्रेस ट्रिब्यूनका अनुसार खैबर पख्तुनख्वा प्रान्तको पेशावरमा प्रहरीले १२ वर्षीया बालिकासँग विवाह गर्न खोजेको आरोपमा ७२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

विवाह हुनुअघि नै अधिकारीहरूले यस विषयमा हस्तक्षेप गरेका थिए। बालिकाका बुबा आलम सैयदमाथि आफ्नी छोरीलाई ७२ वर्षीय हबिब खानलाई ५ लाख पाकिस्तानी रुपैयाँमा बेचेको आरोप छ ।

पाकिस्तानमा बालविवाहको दर विश्वमा सबैभन्दा बढी छ। यहाँ करिब ३० प्रतिशत किशोरीको १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ । विवाहको कानुनी उमेर १६ वर्ष तोकिए पनि कार्यान्वयनमा चुनौती कायमै छ।

प्रहरीले हबिब खानलाई पक्राउ गरेको छ । तर बालिकाका बाबु भने भाग्न सफल भए । ७२ वर्षीय अभियुक्त र बालिकाका बाबु दुवैविरुद्ध बालविवाह नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ । यो घटनामा संलग्न विवाह रजिष्ट्रार पनि पक्राउ परेका छन् ।

खैबर पख्तुनख्वा बालविवाहलाई सम्बोधन गर्न बलियो कानुन नबनाउने दुईवटा प्रान्तहरू मध्ये एक हो। युनिसेफका अनुसार पाकिस्तानमा करिब १९ लाख बालिकाको १८ वर्ष नपुग्दै विवाह हुन्छ । योसँगै ४६ लाख बालिकाको १६ वर्ष नपुग्दै विवाह हुन्छ।

बेलायती जमानाको बालविवाह नियन्त्रण ऐनले विवाहका लागि न्यूनतम उमेर तोकेको छ । तर उल्लंघन गर्नेलाई केवल अधिकतम एक महिना कैद र एक हजार रुपैयाँ जरिवाना तोकिएको छ, जुन अपराधीलाई रोक्न अपर्याप्त मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *