×

कोशी प्रदेशका दुई पूर्व मुख्यमन्त्रीलाई जरिवाना

साउन १०, २०८० | दाक्सु मिडिया सम्वाददाता

प्रदेश सभातर्फ कोशी प्रदेशका ५१० उम्मेदवारमध्ये ३०१ जनाले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका थिए भने २०३ जनाले सार्वजनिक गरेका थिएनन्।
कोशी प्रदेशका दुई पूर्व मुख्यमन्त्री जरिवानामा परेका छन्। २०७९ सालमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भएको खर्चको विवरण तोकिएको समयमै सार्वजनिक नगरेका कारण पूर्व मुख्यमन्त्रीद्वय शेरधन राई र राजेन्द्रकुमार राई जरिवानामा परेका हुन्। 
उनीहरूलाई निर्वाचन (कसूर तथा सजाय), ऐन २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम जनही १५ हजार जरिवाना गरिएको निर्वाचन आयोगले जनाएको छ।
नेकपा (एमाले)का नेता शेरधन राई भोजपुरबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए। यस्तै, नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रकुमार राई भोजपुरबाटै प्रदेशतर्फ क्षेत्र नम्बर ‘क’ का उम्मेदवार बनेका थिए।
निर्वाचन आयोगका अनुसार सुनसरी-३ का प्रतिनिधि सभा उम्मेदवार कांग्रेसका विजयकुमार गच्छदार, मोरङ-३ की प्रतिनिधि सभा उम्मेदवार राप्रपाकी रेखा थापा लगायतले पनि निर्वाचन खर्च सार्वजनिक गरेका छैनन्।
प्रदेश सभातर्फ कांग्रेसका राजीव कोइराला, माओवादी केन्द्रका द्वारिकालाल चौधरी लगायत पनि निर्वाचन खर्च विवरण सार्वजनिक नगर्दा जरिवानामा परेका छन्। उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गरी सार्वजनिक गर्नुपर्ने निर्वाचन ऐनमा व्यवस्था छ।
प्रतिनिधि सभातर्फ कोशी प्रदेशभरिका कुल ४३७ उम्मेदवारमध्ये २३८ जनाले निर्वाचन खर्च सार्वजनिक गरेको, १९३ जनाले सार्वजनिक नगरेको र ६ जनालाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। 
यस्तै, प्रदेश सभातर्फ कोशी प्रदेशका ५१० उम्मेदवारमध्ये ३०१ जनाले निर्वाचन खर्च विवरण सार्वजनिक गरेको, २०३ जनाले सार्वजनिक नगरेको र ६ जनालाई स्पष्टीकरण सोधिएको छ। 
प्रतिनिधि सभातर्फ सुनसरीका ६६, मोरङका ६२, झापाका ५५, भोजपुरका चार, ताप्लेजुङका तीन, पाँचथरका दुई र उदयपुरका एक उम्मेदवारले निर्वाचन खर्च सार्वजनिक गरेका छैनन्। 
प्रदेश सभातर्फ सुनसरीका ६९, मोरङका ६७, झापाका ५३, भोजपुरका पाँच, पाँचथरका तीन, ताप्लेजुङका तीन, उदयपुरका दुई र खोटाङका एक उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गरेका छैनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: