काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन गर्न नमान्ने इतर समूहका चार जिल्ला सभापतिको जिम्मेवारी खोसेर नयाँ कार्यवाहक सभापति तोकेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको हो। उनीहरूको सभापति पद भने कायमै रहने उनले बताए।
निर्णयअनुसार कञ्चनपुरका पदम बोगटीको जिम्मेवारी हरिचन्द्र राना, मुगुका ऐनबहादुर शाहीको जिम्मेवारी हरिजङ्ग शाही, डोटीका नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायर र बागलुङका जित शेरचनको जिम्मेवारी तारानाथ पौडेललाई दिइएको छ।
जिम्मेवारी खोसिएका कञ्चनपुरका सभापति बोगटीले भने अदालतको फैसला नआउन्जेल महाधिवेशनका कार्यक्रम अघि नबढाउन पार्टी नेतृत्वसँग आग्रह गरेका छन्। पार्टीको वैधानिकता, नेतृत्व र विशेष महाधिवेशनसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले एकपक्षीय रूपमा संगठनात्मक गतिविधि अघि बढाउन नहुने उनको भनाइ छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्