आईपीओ निष्कासनमा कडाइ गर्दै धितोपत्र बोर्ड

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्कासन (आईपीओ)को अनुमति प्रक्रियामा थप कडाइ गर्ने भएको छ।

बोर्डले सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिकाको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव मागेको छ। मस्यौदामा अंकित मूल्य १ सय रुपैयाँको आईपीओ निष्कासन गर्न कम्पनीको प्रतिसेयर नेटवर्थ कम्तीमा १ सय रुपैयाँ हुनुपर्ने प्रस्ताव गरिएको छ।

आईपीओ निष्कासनका लागि कम्पनीले निरन्तर व्यवसाय सञ्चालन गरेको, वास्तविक व्यावसायिक कारोबारबाट आम्दानी गरेको र कम्तीमा तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण सार्वजनिक गरेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

त्यस्तै कम्पनीको आधिकारिक वेबसाइटमा विगत तीन वर्षको वित्तीय विवरण, वार्षिक प्रतिवेदन, व्यावसायिक सम्भावना, चुनौती, भावी योजना तथा सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको योग्यता तथा अनुभव सार्वजनिक गर्नुपर्नेछ।

मस्यौदामा कम्पनीका संस्थापक, सञ्चालक तथा प्रमुख पदाधिकारीको योग्यता, नैतिक आचरण र वित्तीय अनुशासनसम्बन्धी ‘फिट एन्ड प्रपर टेस्ट’ गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। वित्तीय ठगी, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार वा गम्भीर आर्थिक अपराधमा दोषी ठहरिएका व्यक्ति तथा कालोसूचीबाट फुकुवा भएको ६ महिना नपुगेका व्यक्तिलाई निष्कासन प्रक्रियामा अयोग्य मानिने प्रस्ताव छ।

यसैगरी स्वतन्त्र सञ्चालक, लेखापरीक्षण, जोखिम व्यवस्थापन र नोमिनेसन समिति गठन अनिवार्य गर्ने तथा आईपीओबाट संकलित रकम छुट्टै बैंक खातामा राखी स्वीकृत उद्देश्यबाहेक अन्य काममा खर्च गर्न नपाइने व्यवस्था मस्यौदामा छ। बोर्डको स्वीकृतिविना रकमको उद्देश्य परिवर्तन गर्न नपाइने र त्यसको उपयोगसम्बन्धी विवरण नियमित रूपमा बोर्ड तथा सर्वसाधारणलाई सार्वजनिक गर्नुपर्ने प्रस्ताव गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *