
ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकलाको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेस र नेकपा एमालेलगायत पार्टीका नेताहरू अस्पतालमा पुगेका छन्।
कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य एनपी साउद, प्रदीप पौडेललगायत र एमाले नेता प्रदीप ज्ञवाली लगायतका नेताहरू अस्पताल पुगेर सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
‘उहाँको अनुहार सुन्निएको छ। राम्रोसँग बोल्नुहुन्छ,’ सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि एमाले नेता ज्ञवालीले भने।
भण्डारीको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो। सांसद भण्डारी र उनकी ८६ वर्षकी आमा हरिकला गम्भीर घाइते छन्। उनीहरूलाई आइसियुमा राखेर उपचार गरिएको छ।
चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको सांसद भण्डारीको सचिवालयले जानकारी दिएको छ।
उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर बिस्फोट भएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्। गए राति नै अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी लिएका थिए।




फेसबुकबाट तपाईको प्रतिक्रिया