असोजमा बैंकको ब्याजदर थप घट्यो, व्यक्तिगत मुद्दतीको औसत ४.०९ प्रतिशत

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३१

काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत भदौको तुलनामा असोजमा घटेको छ ।

२० वटा वाणिज्य बैंकको तथ्यांकअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर भदौमा ४.१३६० प्रतिशत रहेकोमा असोजमा ४.०८९६ प्रतिशतमा झरेको छ । अर्थात् औसत ब्याजदर ०.०४६ प्रतिशत बिन्दुले घटेको हो ।

यसअघि साउनको तुलनामा भदौमा पनि व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ०.०३१५ प्रतिशत बिन्दुले घटेको थियो ।

असोजमा चार वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर घटाएका छन् भने १६ बैंकले भदौकै दरलाई निरन्तरता दिएका छन् । ब्याजदर घटाउने बैंकमा नबिल, एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्ड र कुमारी रहेका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत निक्षेपको ब्याजदरमा समेत प्रभाव पर्न सक्छ । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको आधार दर घट्ने र त्यसले कर्जाको ब्याजदरमा समेत कमी ल्याउन दबाब सिर्जना गर्ने गर्छ ।

यद्यपि, यसअघि नै लामो अवधिका लागि मुद्दती खाता खोलेका ग्राहकले सम्झौतामा तोकिएको ब्याजदर नै पाउनेछन् । असोजमा नयाँ खोलिने वा अवधि पूरा भएपछि नवीकरण गरिने मुद्दती निक्षेपमा भने नयाँ ब्याजदर लागू हुनेछ ।

असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा प्रभु बैंकले अधिकतम ४.५५ प्रतिशत ब्याजदर दिने भएको छ । तर उक्त दर १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपका लागि मात्रै लागू हुने जनाइएको छ । बैंकहरूले मुद्दतीको अवधिअनुसार फरक–फरक ब्याजदर तोक्ने गरेका छन् ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहे पनि कर्जा प्रवाह अपेक्षाकृत बढ्न नसक्दा निक्षेपको ब्याजदर घट्दै गएको देखिन्छ । नेपाल राष्ट्र बैंकले समेत वित्तीय प्रणालीको तरलता तथा अन्तरबैंक ब्याजदर व्यवस्थापनका लागि विभिन्न उपकरणमार्फत तरलता खिच्दै आएको छ ।

व्यक्तिगत मुद्दतीमा बैंकहरूको ब्याजदर

बैंकभदौअसोज
कृषि विकास४.१५%४.१५%
सिटिजन्स३.८५%३.८५%
एभरेस्ट४.०५%३.५०%
ग्लोबल आईएमई४.००%४.००%
हिमालयन४.००%४.००%
इन्भेस्टमेन्ट मेगा४.५०%४.५०%
कुमारी३.७६%३.७३%
लक्ष्मी सनराइज४.००%४.००%
माछापुच्छ्रे४.५०%४.५०%
नबिल४.५५%४.२५%
नेपाल बैंक४.१५%४.१५%
नेपाल एसबीआई४.१०%४.१०%
एनआईसी एसिया४.००%४.००%
एनएमबी४.५०%४.५०%
प्राइम कमर्सियल४.००%४.००%
प्रभु४.५५%४.५५%
राष्ट्रिय वाणिज्य४.००%४.००%
सानिमा४.५०%४.५०%
सिद्धार्थ३.७६%३.७६%
स्ट्यान्डर्ड चार्टर्ड३.८०%३.७५%

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *