×

माप्यदुधकोशी गाउँपालिकामा ५ दिने शिक्षक तालिम शुरु

पुस १२, २०७९ | दाक्सु मिडिया

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा पाँचदिने शिक्षक तालिम शुरु भएको छ। हिमालयन ट्रष्ट नेपालद्धारा माप्यदुधकोशी गाउँपालिकासँगको समन्वयमा हिमालय माध्यमिक विद्यालय बासामा आयोजित पाँचदिने प्रारम्भिक बालविकास र शिक्षा सम्बन्धी तालिम आजबाट शुरु भएको हो ।

हिमालयन ट्रष्ट नेपालका प्रशिक्षकहरुद्धारा संचालन गरिने उक्त तालिममा माप्यदुधकोशी गाउँपालिकाका १९ वटा विद्यालयका १९ जना बालकक्षा शिक्षकहरुको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन गर्नु हुदै प्रमुख अतिथि एवं माप्यदुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले सोलुखुम्बु जिल्लाको शिक्षा क्षेत्रको विकासमा हिमालयन ट्रष्टको महत्वपुर्ण योगदान रहेको विचार व्यक्त गर्नु हुदै प्रारम्भिक बाल विकास र शिक्षा बालबालिकाहरुको समग्र बिकासका लागि महत्वपुर्ण बिषय रहेकोले यस बिषयमा शिक्षक तालिम आयोजना गरिएकोमा हिमालयन ट्रष्ट नेपाललाई धन्यवाद ज्ञापन गर्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवं माप्यदुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले तालिमबाट सिकेका सिपहरुलाई विद्यालयमा व्यवहारमा लागु गर्न सहभागी शिक्षकहरुलाई आग्रह गर्नु भयो । तालिमको उद्धेश्यको बारेमा प्रकाश पार्दै हिमालयन ट्रष्ट नेपालका शिक्षा सल्लाहकार महेन्द्र कठायतले विद्यालयहरुको आवश्यकतालाई मध्यनजर गर्दै नेपाल सरकारको पाठ्यक्रम अनुसार शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरेको बताउनु भयो ।

हिमालयन ट्रष्ट नेपालका कार्यक्रम व्यवस्थापक ल्हाक्पा तेन्जी लामा (शेर्पा) को सभापतित्वमा आयोजित उदघाटन कार्यक्रममा माप्यदुधकोशी गाउँपालिकाका गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष भक्त राई, प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र यादव, शिक्षा अधिकृत गजेन्द्र भट्टराई तथा हिमालय मा.वि. वासाका प्रधानाध्यापक देवी राईले तालिमको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

पाँचदिने तालिममा हिमालयन ट्रष्ट नेपालका प्रशिक्षकहरु महेन्द्र कठायत, अविन महर्जन, चन्द्रदेव भट्ट र रश्मी गुरुङले सहजीकरण गर्नु हुनेछ । यस अघि हिमालयन ट्रष्ट नेपालले गत पौष ३ गतेदेखि ७ गतेसम्म जुनबेशीमा प्रारम्भिक बाल विकास र शिक्षा सम्बन्धी पाँचदिने शिक्षक तालिम सम्पन्न गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: