राष्ट्रपति भण्डारी सोलुखुम्बुमा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ कार्तिक २०

राष्ट्रपति विद्यादेवी भण्डारी सोलुखुम्बु आएकी छन् । खुम्बु पासाङ ल्हमू गाउँपालिका ३ फाक्दिङमा निर्माण गरिएको १५ शैयाको अस्पतालको उद्घाटनमा राष्ट्रपति भण्डारी केहिबेर अघि नेपाली सेनाको हेलिकप्टर मार्फत फाक्दिङ आएको सहकर्मी शिखर गजरकोटेले जानकारी दिए ।

अस्पतालको उद्घाटन सकेर राष्ट्रपति भण्डारी आजै काठमाण्डौँ फर्कने कार्यक्रम रहेको छ । हिमालयन शेर्पा फाउण्डेशनको २० करोड लागतमा हिमालयन शेर्पा अस्पताल निर्माण गरिएको छ ।

ओपिडी, ल्याब, प्रसुती, माउण्टेन मेडिसिन सेवा सुविधा रहेको अस्पतालको आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको हिमालयन शेर्पा फाउण्डेशनका अध्यक्ष फुर्वा ग्याल्जे शेर्पाले जानकारी दिए ।

अस्पतालको सेवाबाट खुम्बु पासाङ ल्हमू ३ का फाक्दिङ क्षेत्रका ११ वटा वस्तिका करिब १० हजार नागरिक लाभान्वित हुनेछन् । अस्पताल संचालनमा आएसँगै यसअघि उपचारका लागि लुक्ला धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

फाउण्डेशनका अध्यक्ष शेर्पाका अनुसार स्थानीयको माग अनुसार निशुल्क उपचार सेवा प्रवाह गर्ने गरि अस्पतालको निर्माणको योजना अघि सारिएको हो । सन् २०१७ देखि निर्माण शुरु गरिएको अस्पताल सन् २०१९ मा सम्पन्न गर्ने लक्ष्य राखिएपनि कोभिड महामारीको कारण तीन बर्ष पर धकिलिएको शेर्पाको भनाई छ ।

अस्पताल निर्माण शुरु गर्नुअघि फाक्दिङमा हिमालयन शेर्पा फाउण्डेशनले निशुल्क क्लिनिक सेवा संचालन गर्दै आएको थियो । माउन्टेन मेडिसिन सेन्टर समेत संचालन हुने अस्पतालमा खुम्बु भ्रमणमा आएका बिरामी पर्यटकको उपचार गर्ने र भ्रमणलाई निरन्तरता दिने वातावरणका लागि पनि योगदान गर्ने लक्ष्य राखेको छ ।

अहिलेसम्म नाम्चे भन्दा माथी पुगेर बिरामी परेका पर्यटकलाई काठमाण्डौँ उद्धार गर्नुपर्ने बाध्यता रहेको र त्यसले पर्यटकको भ्रमण रद्ध गर्नुपर्ने वातावरण सृजना हुने गरेको हिमालयन शेर्पा एडभेञ्चरका अध्यक्ष समेत रहेका शेर्पाले बताए । अस्पतालमा अहिले एक जना चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीको टिम परिचालन छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *