आज राष्ट्रपति भण्डारी बंगलादेश जाँदै,२ दिनको भ्रमण

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र ९

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि आज (सोमबार) बंगलादेश जाँदै छिन् । दुई दिनको राजकीय भ्रमणका लागि उनी अहिले बिहान सवा ७ बजे नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।

काठमाडौं–बंगलादेश उडान अनुमानित १ घण्टा १० मिनेटको हुनेछ । भ्रमणका क्रममा दुई देशबीच विभिन्न समझदारी पत्रमा हस्ताक्षर हुने सरकारले जनाएको छ ।

नेपाल र बंगलादेशबीच पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । सम्झौताअनुसार बंगलादेश नेपाललाई पारवहन प्रयोजनका लागि रोहनपुर–सिंगावाद रेलवे रुट प्रयोग गर्न दिनेछ ।

त्यस्तै दुई देशबीच स्यानिटरी र साइटो स्यानिटरीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ । सम्झौताका लागि मन्त्रिपरिषदको बैठकले उद्योग, वाणिज्य र आपूर्ती मन्त्रालयका सचिवलाई अख्तियारी दिएको छ । यस्तै नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने सरकारले जनाएको छ ।

नेपाल सरकार र बंगलादेश सरकारबीच सांस्कृतिक कार्यक्रम आदानप्रदान कार्यक्रमसम्बन्धी सहमति पत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको आइतबार सार्वजनिक मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।

यसबाहेक नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्य, व्यापार प्रवर्द्धनलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बंगलादेश भ्रमण सकेर राष्ट्रपति भण्डारी यही चैत १० गते त्यहाँको समयानुसार अपराह्न ३ः४५ बजे काठमाडौं फर्किने तालिका छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *