काठमाडौँ – यो साताको सेयर बजार लगानीकर्ताका लागि निराशाजनक रह्यो। नेप्से परिसूचक ३.६८ प्रतिशतले घटेर २५८२.१८ विन्दुबाट २४८७.१७ विन्दुमा झर्यो। पाँच कारोबार दिनमध्ये चार दिन नेप्से ओरालो लाग्दा बजारमा दबाब स्पष्ट देखिएको छ।
सप्ताहभरको औसत दैनिक कारोबार रकम पनि घटेको छ। गत साता प्रतिदिन औसत ५ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा, यस साता घटेर ४ अर्ब २८ करोडमा सीमित भयो – जुन १७.९५ प्रतिशतको गिरावट हो। कारोबार संख्या र शेयर संख्यामा पनि क्रमशः २२.२५% र २१.४८% को कमी देखिएको छ।
बजार पुँजीकरण पनि कमजोर हुँदै गएको छ। नेप्सेको कुल बजार पुँजीकरण ४३ खर्ब १६ अर्ब रुपैयाँबाट घटेर ४१ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको छ – करिब १ खर्ब ५८ अर्ब रुपैयाँको गिरावट।
सप्ताहभर १३ वटै उपसमूहमा गिरावट देखिँदा वित्त उपसमूह सर्वाधिक ६.२४% ले घट्यो। जीवन बीमा उपसमूह भने अंकका आधारमा सबैभन्दा बढी (४००.६९ अंक)ले घटेको हो। म्युचुअल फण्ड उपसमूह तुलनात्मक रूपमा स्थिर देखिएको छ, जसको परिसूचक केवल ०.१५% ले घटेको हो।
लगानीकर्ताले बजारमा चाप कायमै रहेको महसुस गरिरहेका छन् भने विश्लेषकहरूका अनुसार, आगामी हप्तामा बजारको दिशा आर्थिक नीतिहरू, कम्पनी नाफा विवरण र ब्याजदरमा निर्भर रहनेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्