नुवाकोट । त्रिशूली नदीमा आएको बाढीले पुल तथा सडकमा क्षति पुर्याएपछि नुवाकोटका प्रभावित बस्तीलाई सदरमुकाम विदुरसँग जोड्न तुइन निर्माण तीव्र पारिएको छ।
बाढीका कारण भदौ १० गतेदेखि सडक यातायात अवरुद्ध भएपछि औषधि, राहत तथा अत्यावश्यक सामग्री पुर्याउन समस्या भएको थियो। यही कारण विदुर–१ इन्द्रायणी चौरदेखि गुम्बासम्म करिब ३०० मिटर लामो तुइन निर्माण अन्तिम चरणमा पुगेको छ।
देवीघाटको पुल बगेपछि बेलकोटगढीसँग सम्पर्क कायम गर्न पनि तुइन निर्माण सुरु गर्ने तयारी छ। नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा बाढीले १८ वटा पक्की पुलमा क्षति पुर्याएको बताइएको छ।
सडकबाट पुग्न कठिन त्रिशूलीपारिका बस्तीलाई जोड्न विदुर क्षेत्रमा पाँच स्थानमा तुइन निर्माण गर्ने तयारी गरिएको छ। एउटा तुइन निर्माणमा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान छ।
यसैबीच क्षतिग्रस्त पुलको विकल्पका रूपमा नेपाली सेनाले ढुङ्गेबगर, त्रिशूली बजार, देवीघाट र बेत्रावतीमा बेलिब्रिज निर्माणका लागि प्राविधिक अध्ययन अघि बढाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्