विद्युत्मा भ्याट लगाउने निर्णय पुनर्विचार गर्न पोखरेलको माग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १७

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विद्युत् उपभोगमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारी निर्णयको आलोचना गर्दै उक्त व्यवस्था फिर्ता लिन आग्रह गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारले स्वदेशी ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने अवस्थामा उल्टै अतिरिक्त करको भार थपेर उपभोक्तालाई निरुत्साहित गरेको बताएका छन्।

पोखरेलले विगतमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा आपूर्ति समस्यालाई कारण देखाउँदै सार्वजनिक बिदासमेत घोषणा गरिएको स्मरण गराउँदै अहिले ५० युनिटभन्दा बढी विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि भ्याट लगाउनु विरोधाभासपूर्ण कदम भएको टिप्पणी गरे।

नेपाल जलस्रोतको दृष्टिले विश्वका सम्भावनायुक्त राष्ट्रमध्ये एक रहेको उल्लेख गर्दै उनले स्वदेशमै उत्पादन भएको स्वच्छ ऊर्जाको उपयोग बढाउनुपर्ने आवश्यकता औंल्याए। तर विद्युत् प्रयोगमा कर थप्नुले नागरिकलाई आफ्नै प्राकृतिक स्रोतको प्रयोगबाट टाढा धकेल्ने जोखिम रहेको उनको भनाइ छ।

महासचिव पोखरेलले ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि विद्युत् उपभोगलाई सहज र प्रोत्साहनमुखी बनाउने नीति आवश्यक रहेको समेत बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *