काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्विरोध हुने भएका छन् । पार्टीको दोस्रो महाधिवेशनका लागि अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेको हो ।
असोज १ गते भएको उम्मेदवारी दर्तामा विभिन्न पदका लागि १०३ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षबाहेक अन्य पदमा भने एकभन्दा बढी उम्मेदवारी परेको जनमत पार्टीका निवर्तमान महासचिव चन्दन सिंहले जानकारी दिए ।
सात उपाध्यक्षका लागि १४, महासचिवका लागि ३, उपमहासचिवका लागि २ र सात सचिवका लागि १० जनाको उम्मेदवारी परेको छ । कार्यकारिणी समिति सदस्यका लागि ७३ जनाले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी फिर्ताको समय आइतबार साँझ ५ बजेसम्म तोकिएको छ । हालसम्म उम्मेदवारी फिर्ता नभएको र सहमतिको प्रयास भइरहेको सिंहले बताए ।
एकभन्दा बढी उम्मेदवारी परेको पदमा चुनाव हुने भए पनि त्यसअघि सर्वसम्मतिको प्रयास गरिने जनमत पार्टीले जनाएको छ । सहमति नभए निर्वाचनमार्फत पदाधिकारी चयन गरिनेछ ।
जनमत पार्टीको दोस्रो महाधिवेशन असोज ९ र १० गते पर्साको वीरगञ्जमा हुँदैछ । अध्यक्षसहित अन्य पदाधिकारीको आधिकारिक घोषणा असोज १० गते गरिने जनाइएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्